नेपालगन्जमा युवा क्लब गठन कार्यक्रम जारी
समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप–महानगरपालिका भित्र समृद्धि फाउण्डेशन नेपाल बाँकेले युवा क्लब गठन पुनर्गठन गरिरहेको छ । युएस एडको आर्थिक सहयोग र द एशिया फाउण्डेशनको साझेदारीमा राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन गरिरहेको हो ।
युवाहरूलाई सशक्तिकरण, सामाजिक एकता प्रवर्द्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न युवा क्लबको गठन र सक्रियता थर्फ फोकस गरिएको हो । वडा स्तरमा युवा क्लबहरूको स्थापनाले युवाहरूलाई आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्याहरूलाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण हुने आपेक्षा गरिएको छ । वडाका युवाहरूलाई समुदायको विकासमा युवा क्लबले पु–याउन सक्ने योगदान र युवा क्लब मार्फत सामाजिक हानीकारक अभ्यासको विरुद्धमा गर्न सकिने अभियान बारे जानकारी दिन क्लब मार्फत सहज हुने जानकारी दिदै कार्यक्रम संयोजक शकील खानले स्थानीय तहसँग समन्वय र सहकार्य गरी सामुदायिक सेवामा सहभागी हुने र स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानव अधिकार, महिला अधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीति विरूद्धका सचेतना अभियानहरूमा सक्रियता पूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने बताउनु भयो ।
प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरि मधेसी मुस्लिम र पछाडि पारिएको सिमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङगता भएका युवालाई क्लबमा समावेश गरिने जानकारी दिदै समृद्धि फाउण्डेशन नेपालका अध्यक्ष महेश कुमार चौधरीले योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधी, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधी, लक्षित समुह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने र वडा स्तरीय जनप्रतिनिधी र स्थानीय सरकारलाई युवाक्लब गठन प्रति बढि जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको बताउनु भयो ।
मुस्लिम समुदायमा रहेको बालविवाह युवाहरुको सहभागिता र पहल मार्फत न्युनिकरण गर्ने परियोजना अन्तरगत भईरहेको युवा क्लब गठन कार्यक्रमबाट बालविवाह र दाईजो प्रथा न्युनीकरणका लागि युवाहरुको संगठन निर्माण गरि सामुदायिक गतिविधिहरूमा युवाहरूको सहभागिता वृद्धि गराउने लक्ष्य रहेको छ । स्थानीय युवाहरु बिच बलियो सामुदायिक सम्बन्ध स्थापनामा मद्दत पुग्ने र सामाजिक हानिकारक अभ्यास विरुद्धको अभियानका लागि सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता हुने लक्ष्य रहेको छ ।